जनकपुर, ७ कार्तिक । जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रका लागि युवा अभियानले आगामी फागुनमा हुने निर्वाचनमार्फत राजनीतिमा युवाको सशक्त हस्तक्षेपको आह्वान गरेको छ ।
वक्ताहरुले जेनजी विद्रोहको मूल लक्ष्य भ्रष्टाचार अन्त्य र युवा नेतृत्व स्थापना भएको उल्लेख गर्दै, वर्तमान राजनीतिक दलहरू अध्यक्षकेन्द्रित र निजी कम्पनीजस्तै बनेको आलोचना गरे ।
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाले देउवा, ओली र प्रचण्डका “जलेका घर” म्युजियममा राख्न सुझाव दिँदै भ्रष्टाचारविरुद्ध चेतावनीको प्रतीक बनाउनुपर्ने बताए ।
उनले जेनजी आन्दोलनमा भएको घुसपैठप्रति सावधानी अपनाउन र संघीयता कमजोर पार्ने प्रयासविरुद्ध मधेशी युवालाई सशक्त आवाज उठाउन आग्रह गरे ।
जनमत पार्टीबाट विद्रोह गरेका नेताहरूको अगुवाइमा सुरु अभियानले मधेशका सबै जिल्लामा अन्तरक्रिया गर्ने योजना रहेको छ ।














