काठमाडौं, ७ कार्तिक । सुदन गुरुङले आफूलाई विदेशी एजेन्ट भनेर बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् र त्यो अस्वीकार गरेका छन् ।
उनी आफू पूर्ण रूपमा नेपाली नागरिक भएको र नागरिकता रेकर्डले स्पष्ट हुन सक्ने बताए । माइतीघरमा जेनजी सहिदको सम्झनामा बोल्दै उनले जेनजी आन्दोलनलाई विभाजन गर्ने र भ्रम सृजना गर्ने प्रयास भइरहेको दाबी गरे ।
उनले आन्दोलनमा भएका अन्य गलत क्रियाकलापहरूको मुख्य छानबिन महेश बस्नेतमाथि हुनुपर्ने बताउँदै राज्यसत्तामा रहेका व्यक्तिहरूको नागरिकता र सम्पत्ती छानबिन गर्नुपर्ने माग गरे ।
आफ्नो संस्था ‘हामी नेपाल’ लाई उनले गैर नाफामूलक संस्था भनिए पनि एनजीओ नभएको स्पष्ट पारे । कांग्रेस र एमालेका केही कार्यकर्ताहरूले आन्दोलनमा घुसपैठ गरी आगजनी गरेको र गोली हान्ने आदेश प्रधानमन्त्री केपी ओलीबाट आएको आरोप उनले लगाए; गृह मन्त्रालयबाट छानबिन प्रक्रियामा रहेको जवाफ पाएको पनि गुरुङले बताए ।














