काठमाडौं, १९ असोज । असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढीले देशभरका विभिन्न नदी तटबन्धमा ठूलो क्षति पु¥याएको छ ।
प्रारम्भिक विवरण अनुसार करिब १,५०० मिटर तटबन्ध कटान हुँदा झन्डै १० करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बतााएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्ज–२ स्थित कन्काई नदीले हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ ।
यस घटनाबाट १ सय १४ घरपरिवार डुबानमा परेका छन् भने ५०० हेक्टर धान खेतमा क्षति पुगेको छ । त्यस्तै, झापा गाउँपालिका–२ को कुवाडी क्षेत्रमा बाढीले करिब २०० मिटर तटबन्ध बगाउँदा २५ हेक्टर जमिन डुबानमा परेको छ । यसबाट करिब ७५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
मेची नदीले पनि विभिन्न स्थानमा रहेका स्पर भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । पूर्वी नेपालकै अर्को नदी केशलिया (बुढी खोला) को बाढीले बिराटनगर महानगरपालिका–६ र १२ का बस्तीहरू डुबानमा परे।
यसबाट ७५ घरधुरी विस्थापित भएका छन् । त्यस्तै, सिरहाको कमला नदीको पूर्वी किनारमा पर्ने पटेरुवा तटबन्धमा बाढीले क्षति पु¥याउँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । लालबकैया नदीले मौलापुर नगरपालिका–१ मर्यादपुर क्षेत्रमा करिब ६० मिटर तटबन्ध कटान गर्दा १०० हेक्टर धान खेत नष्ट भएको छ ।
त्यस्तै, बौदीमाई गाउँमा १२० मिटर तटबन्ध बगाउँदा २०० हेक्टर खेत तथा २०० घर–गोठ डुबानमा परेका छन् । यी क्षेत्रहरूमा मिलेर करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मध्य तराईमा पर्ने महोत्तरी जिल्लामा पनि बाढीको ठूलो प्रभाव परेको छ ।
रातो नदीले बलवा नगरपालिकाका वडा नं. २, १० र ११, साथै बन्चौरी, लेउरी, भल्नी र भगवतीपुर क्षेत्रमा गरी जम्मा ३९० मिटर तटबन्ध बगाएको छ । त्यस्तै, लोहरपट्टीमा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारा क्षेत्रमा २० मिटर, र जलेश्वर नगरपालिकाका १, ४ र ७ नम्बर वडामा पर्ने बखरी र खैरामा ८० मिटर तटबन्ध बाढीले नष्ट गरेको छ ।
कुल मिलाएर रातो नदीले ८९० मिटर तटबन्ध कटान गरेको प्रारम्भिक विवरण आएको छ । बाढीका कारण सदरमुकाम जलेश्वर समेत प्रभावित बनेको छ । मन्त्रालयका अनुसार महोत्तरी जिल्लामात्रै करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।














