काठमाडौं, १९ असोज । अविरल वर्षाका कारण सिन्धुलीका विभिन्न सडक खण्डहरू अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्य पहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो र सडक कटानका घटना घटेका छन् ।
बीपी राजमार्ग अन्तर्गत सुनकोशी–१ गजुली दह क्षेत्रमा माथिबाट ढुंगा, माटो र लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । त्यस्तै सुनकोशी–१ नेपालथोक–घ्याम्पे खोला खण्डमा रोशी खोलाले करिब २५० मिटर सडक कटान गरेको प्रहरीले बतााएको छ ।
त्यस्तै सुनकोशी–६ कानढुङग्रे क्षेत्रमा पनि ढुंगासहितको पहिरोले सडक अवरुद्ध बनाएको थियो । हाल उक्त स्थानमा एकतर्फी आवागमन सम्भव भए पनि जोखिम यथावत रहेको प्रहरीले जनाए । मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल–६ नागस्थान क्षेत्रमा पहिरो खसेपछि सडक दुबै तर्फबाट बन्द भएको छ । अवरोध हटाउनका लागि खुर्कोटबाट जेसीबी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सोही लोकमार्गको गोलन्जोर–६ अक्करे भिरमा पनि पहिरो खसेर सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । प्रहरीका अनुसार यान्त्रिक कार्यालय खुर्कोटको लोडरले अक्करे भिर क्षेत्रको अवरोध पन्छाउने काम सुरु गरेको छ र उक्त लोडर खाङसाङसम्म पुगेर पहिरो हटाउने कार्य जारी छ ।
मदन भण्डारी राजमार्गको मरिन–२ सिन्दुरे दोभान क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय कपिलाकोटको समन्वयमा दुईवटा जेसीबी प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै हरिहरपुरगढी–४ हाकपारा क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भए पनि अहिले एकतर्फी रूपमा आवागमन खुला गरिएको छ ।
त्यसैगरी कमलामाई नगरपालिका–८ हर्दिया क्षेत्रमा खोला र पहिरोका कारण सडक अवरुद्ध भएको छ। स्थानीयको सहयोगमा तीनवटा जेसीबी प्रयोग गरी अवरोध पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।














