काठमाडौं, १८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् ।
देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानका जोखिम बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै सबैलाई सतर्क र सावधान रहन अपिल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।
उनले अहिलेको परिस्थितिलाई चुनौतीपूर्ण समय भन्दै सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल अवस्थाका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीमा रहेको स्पष्ट पारिन् ।
प्रधानमन्त्रीले देशभर जारी भारी वर्षाका कारण नदी–नालाको बहाव उच्च सतर्कताको तहमा पुगेको र अझै दुई दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको जानकारी दिँदै सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिन् ।
उनले भनिन्, ‘हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ । म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरू चौबीसै घण्टा तयारी अवस्थामा छन् ।
प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न, बाढीको पानी वा पहिरोमा गाडी नचलाउन, र जोखिमयुक्त स्थानमा नजान आग्रह गरेकी छिन् ।
उनले डुबान वा पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन र विपद् व्यवस्थापन कार्यालयका आधिकारिक चेतावनी तथा सूचनाहरू पालना गर्न समेत अनुरोध गरिन् ।














