जनकपुर, १८ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुधमती एफएम १०४ मेगाहर्जमा प्रहरी अनधिकृत प्रवेश गरी प्रसारण अवरुद्ध गरेको घटना सार्वजनिक भएको छ ।
एफएमका सञ्चालक तथा पत्रकार अनिल कुशवाहाका अनुसार असोज १३ गते एक व्यवसायीको भनाइ सार्वजनिक गरेको भन्दै प्रहरी निरीक्षक राजाराम यादव स्वयं कार्यालय पसेर प्रत्यक्ष प्रसारण बन्द गराएका थिए ।
त्यसपछि कुशवाहालाई ईलाका प्रहरी कार्यालय लगेर गालीगलौज, अपमानजनक व्यवहार र थुन्ने धम्की दिइएको दाबी गरिएको छ । पत्रकार महासंघमा निवेदन दिँदै कुशवाहाले यसलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।
यता प्रहरी निरीक्षक यादवले भने साइबर अपराधको अनुसन्धानका लागि कुशवाहालाई बोलाएको र प्रसारण बन्द नगरेको दावी गरेका छन् ।














