काठमाडौं, १४ असोज । काठमाडौं जिल्ला डेंगु संक्रमणको रेड जोनमा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि हालसम्म उपत्यकामा ५ सय ६५ जना डेंगु संक्रमित भेटिएका यो संख्यासँगै काठमाडौं डेंगु संक्रमणको रेड जोनमा परेको हो ।
संक्रमणको फैलँदो दर अनुसार कुनै जिल्लामा पाँच सय भन्दा बढी संक्रमित भेटिए सो जिल्लालाई संक्रमणको जोखिम बढेको भन्दै रेड जोनमा राख्ने गरिन्छ। ईडिसिडीको विवरण अनुसार काठमाडौंमा २ सय संक्रमित सेप्टेम्बर महिनामा थपिएका थिए । ईडीसीडीको विवरण हेर्दा देशका ७५ जिल्लामा नै डेंगु फैलिएको छ ।
र हाल देशभर संक्रमितको संख्या पाँच हजार एक सय ९६ जना संक्रमित छन्। जसमा २ सय ७४ जनामा मात्रै पछिल्लो सात दिनमा थपिएका हुन। यस्तै यो बर्ष डेंगुबाटै २ जनाले ज्यान गुमाइ सकेका छन् । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण दैनिक बढ्दो छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ‚ ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ । अबको एक महिना संक्रमण बढ्ने हुँदा घर बाहिर निस्कँदा पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै यो अवधिमा डेंगु संक्रमित गण्डकी प्रदेशमा १ हजार ३ सय २७ जना पुगेका छन् । यसैगरी बागमती प्रदेशमा ११९१, कोशी प्रदेशमा ७३७ जना, मधेश प्रदेशमा ११२ जना, लुम्बिनीमा ९११, कर्णालीमा २९६ र सुदूरपश्चिम प्रदेशमा क्रमशः ६२२ जना संक्रमित रहेका छन् ।
विगतका वर्षहरूमा नेपालमा डेंगुको संक्रमणदर हेर्दा अगस्ट र सेप्टेम्बर सम्म डेंगु संक्रमण तीव्र फैलदै आएको छ ।














