जनकपुर, १२ असोज । दशैंको आगमनसँगै जनकपुरमा चहलपहल बढेको छ ।
राजदेवी मन्दिर रंगीचंगी बत्ती, तोरण र फूलमालाले सजिएर दुलही जस्तै देखिन्छ । तर मन्दिरकै अगाडि देखिएको एक दृश्यले धार्मिक आस्थामा चोट पु¥याएको छ ।
केही वर्षअघि स्थापना गरिएको भगवान हनुमानको प्रतीक हनुमान ध्वज अहिले पूर्ण रूपमा च्यातिएको अवस्थामा देखिन्छ । धार्मिक महत्त्वको यति ठूलो चाडमा लाखौँ रुपैयाँ खर्च गरेर सजावट गर्ने युवा क्लबहरू र स्थानीय निकायको ध्यान त्यता नजानु धेरैका लागि लाजमर्दो विषय बनेको छ ।
जनकपुर आफैँमा एक प्रमुख धार्मिक नगरीका रूपमा परिचित छ । यस्तै ठाउँमा सार्वजनिक रूपमा राखिएको धार्मिक प्रतीकको बेवास्ता हुनु प्रश्न उठ्ने अवस्था छ ।
स्थानियवासी भन्छन् –
५०० रुपैयाँमै नयाँ झण्डा किन्न सकिने हो भने किन त्यो च्यातिएको झण्डा हटाइएन? के धर्मगुरु र स्थानीय निकायहरू यति कमजोर भएका हुन?”
धार्मिक आस्थाको दोहन गरेर विभिन्न संघ–संस्थाहरू चन्दा उठाउने तर स–साना कुरामा बेवास्ता गर्ने प्रवृत्तिप्रति अब सर्वसाधारणको विश्वास डगमगाउन थालेको छ ।
यस्तो दृश्यले धार्मिक नगरी जनकपुरको छविमा नकारात्मक असर पार्ने डर छ । सम्बन्धित निकायले तुरुन्त ध्यान नदिए यसले ठूलो जनआक्रोश निम्त्याउने सम्भावना पनि देखिन्छ ।














