काठमाडौँ, १० असोज । अगामी सोमबार टुँडिखेलमा आयोजना गर्न लागिएको फूलपाती बढाइँ समारोहको लागि शुक्रबार ग्राण्ड रिहर्सल गरिएको छ ।
नेपाली सेनाले हरेक वर्ष फूलपाती आउन दुई दिन बाँकी रहँदा ग्राण्ड रिहर्सल गर्दै आएको छ । फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्दै आइरहेको छ ।
सप्तमीका दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती दसैँ घरमा भित्र्याउने साइतमा नेपाली सेनाले २१ तोपको सलामी दिने गरिन्छ ।
टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरूलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन पनि छ ।














