जनकपुर, १० असोज । जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशमा रहेका ९० वटा प्रहरी कार्यालयमा आशिंक वा पूर्ण रुपमा क्षति पुगेको छ ।
आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण सुरक्षा संयन्त्रमा व्यापक असर परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाका अनुसार भदौ २३ र २४ गते सुरु भएको जेन–जी प्रदर्शनले १३ वटा प्रहरी कार्यालयमा पूर्णरूपमा क्षति पु¥याएको छ भने थप ७७ वटा कार्यालय आशिंक रूपमा क्षतिग्रस्त भएका छन् ।
७ करोडभन्दा बढीको क्षति
प्रहरी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र अन्य क्षतिको प्रारम्भिक मूल्यांकनअनुसार झण्डै ७ करोड ३१ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
सबैभन्दा बढी क्षति धनुषामा
क्षतिको हिसाबले धनुषा जिल्ला सबैभन्दा अगाडि रहेको छ । धनुषामा मात्रै २३ वटा प्रहरी कार्यालय प्रभावित भएका छन्, जसमा जिल्ला ट्राफिक प्रहरी कार्यालय समेत पर्छ ।
सर्लाहीमा २०,
सिरहामा १४,
रौतहटमा १२,
पर्सामा ११,
सप्तरीमा ६,
बारामा ३, र महोत्तरीमा १ प्रहरी कार्यालयमा क्षति पुगेको हो ।
सवारी साधनमा पनि क्षति
प्रदर्शनको क्रममा प्रहरीका विभिन्न सवारी साधन पनि क्षतिग्रस्त भएका छन् । पूर्ण रूपमा ध्वस्त भएका सवारीसाधनमा ८ वटा चारपांग्रे र २५ वटा दुईपांग्रे रहेका छन् । आशिंक क्षति भएका सवारीमा १४ वटा चारपांग्रे र २ वटा दुईपांग्रे रहेका छन् ।
२०७ सरकारी कार्यालयमा तोडफोड–आगजनी
केवल प्रहरी कार्यालय मात्र नभई २०७ वटा सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।
मानव क्षति पनि
प्रदर्शनको क्रममा सुरक्षाकर्मी र सर्वसाधारणमा समेत चोटपटक पुगेको प्रहरीले जनाएको छ ।
८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।














