काठमाडौं, ९ असोज । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्टी जनाएका छन् ।
आफूलाई प्रहारको निशाना बनाइएको टिप्पणी पनि उनले गरे । आज आफ्नो निवासमा आएका प्रेस चौतारीका पत्रकारहरुसँग कुरा गर्दै ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको प्रष्टीकरण दिए ।
उनले भने, ‘मलाई थाहा छ, मलाई अहिले प्रहारको निशाना बनाइएको छ । के हो मेरो अपराध ? मैले भ्रष्टाचार गर्दिनँ र गरेको छैन । विकासको खाका कोर्न नेतृत्व गरेको हुँ ।
हिंसा र पृथकतावादी शक्तिलाई ल्याएर एकता गर्नु अपराध हो ?’ ‘अहिले सुन्छु, मानिसहरूसँग प्रतिशोध साँध्ने कुरा भइरहेको छ । अराजनीतिक, प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिरहेको छु ।
यो कहाँ पुगेर रोकिने ? शान्ति हुनुपर्दैन ?’, ओलीले थपे । देश त्रासमय बनेको र मान्छेसँगै डराउनुपर्ने स्थिति आएको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।
जेनजीको आन्दोलनमा गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने निष्पक्ष छानबिन हुनुपर्नेमा ओलीले जोड दिए ।














