जनकपुर, ९ असोज । जनकपुरमा प्रहरीकै संलग्नतामा एक १६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार भएको घटना सार्वजनिक भएको हो । जकपुरको मुरलीचोक स्थित होटेल मधेश प्रदेश र पीडारीचोक स्थित सिएफसी होटेलमा असार १७ गतेदेखि साउन ४ गतेसम्म बन्धक बनाएर प्रहरी समेतले बलात्कार गरेको खुलेको हो । र यो घटना धनुषा प्रहरी नेतृत्वको चरम लापरबाहीले भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग, सरकारी वकिलको कार्यालय र सिआइबीको दबाबमा मात्र धनुषा प्रहरीले जाहेरी दर्ता गरेपछि दुईजना प्रहरीसहित तीनजना कारागार चलान भएका छन् ।
धनुषा जिल्ला अदालतको आदेशमा जवर्जस्ती करणी मुद्दामा मुख्य अभियुक्त होटेल संचालक धरौटीमा छाडिएको छ भने दुई प्रहरीसहित तीनजना कारागार चलान भएका छन् । असोज २ गते न्यायाधीश इश्वर आचार्यको इजलासले मुख्य अभियुक्त जनकपुरको मुरलीचोक स्थित होटेल मधेशका संचालक मोलवी साहव भन्ने अजिज राइनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो र होटेल मधेश प्रदेशका कामदार धिरजकुमार दास छन् ।
धनुषाको धनौजी गाउँपालिकाको बअुहर्वाका एकजना १६ वर्षीया बालिकालाई गत असार १७ गते घरबाटै अपहरण गरी जनकपुरको पिडारीचोक स्थित होटेल सिएफसीमा दुई दिन र त्यसपछि १७ दिन मधेश प्रदेश बन्धक बनाएर होटेल संचालकसहित प्रतिवादीहरुले जवरजस्ती करणी गरेको, र अन्यबाट ग्राहकबाट पैसा लिएर जवरजस्ती करणी गर्न लगाएको मुद्दाको मसिलिमा उल्लेख छ ।
मुख्य अभियुक्त राइनले आफू होटेल एण्ड मधेश प्रदेश गेष्ट हाउसको केही महिनादेखि उक्त होटेल ठेक्कामा लगाएको करारको सम्झौताको प्रतिलिपी पेस गरेको आधारमा उनलाई छाड्ने आदेश दिएको देखिन्छ । राइनले ११ फागुन २०८१ मा उक्त होटेल शंकर साहलाई संचालन गर्न दिएको सम्झौतापत्रको प्रतिलिपी पेश गरेको आदेशपत्रमा भनिएको छ ।
निज प्रतिवादीको नाउँमा मधेश प्रदेश होटल दर्ता रही निजले नै संचालन गरेकोमा मिति २०८१/११/११ मा शंकर प्रसाद साहले संचालन गर्ने भनी सम्झौता भएको सम्झौता पत्र, यि प्रतिवादीले पेश गरेको’ आदेशमा अघि लेखिएको छ ‘..पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी यि प्रतिवादी मोलची म भन्ने अजिज राइनबाट हाललाई …नगद धरौटी रु ४,००,०००÷–(चार लाख रुपैयाँ) वा सो बराबरको जेथा जमानी दिए लिई तारेखममा राख्नु’
आदेशमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले गरेको अनुसन्धानमा होटेलका कामदार धिरज दाससँग पटकपटक फोन सम्पर्क भएकको कल डिटेल्समा देखिएको उल्लेख छ ।
पीडित बालिकाले साउनमै धनुषा प्रहरीमा मानव बेचबिखन, ओसार पोसार र जवरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।
जसमा धनुषाको धनौजी गाउँपालिका ५ का ३० वर्षीय ताहिर राइन, होटेल मधेश प्रदेशका संचालक मोलवी भन्ने अजिज राइन, पिडारीचोक स्थित होटेल सी.एफ.सी. संचालक कन्हैया मुखिया, होटलमा कार्यरत वर्ष २२ की अन्जली महरा, प्रहरीजवानहरु वर्ष ३० का नितेश कुमार महतो, वर्ष ३५ का बरुणकुमार साह, प्रहरी भन्ने ४० का राजा, मधेस प्रदेश होटलका कामदार वर्ष ३५ का धिरज दास, होटेलमा केटीहरुलाई शारीरिक व्यवसायीका लागि जवरजस्ती तयार पार्ने अर्थात् मेकअपगरी लुगाफेरी दिने जस्ता काम गरेको वर्ष २५ की मुस्कान खातुन, ताहिरका बुबा मुफिद राइनलाई प्रतिवादी बनाएर जाहेरी दिएकी थिइन् । जस मध्ये ४ जना पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरेको थियो ।
कसरी भयो घटना ?
पीडित बालिकाले दिएको जाहेरी अनुसार २९ चैत २०८१ म आमा खेतमा गएको बेला घर नजिकै पसल चलाउने स्थानीय ताहिर राईनले बालिकालार्य विवाहको प्रलोभन देखाएका थिए । प्रलोभनमा पारेर अपहरण गरी जनकपुर ल्याएर आफूसहित अरुसंग पनि जवर्जस्ती करणी गराई होटल हरुमा बेच बिखन गरेको र पछि भागेर ज्यान जोगाकी थिइन् । जसको जाहेरी पीडित बालिकाले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएकी थिइन् । तर सो जाहेरी उपर प्रहरीले समयमा जाहेरी दर्ता र सुनुवाई नै गरेन । प्रहरीकै संरक्षणमा अभियुक्त ताहिर राइन विदेश भाग्न सफल भए ।
जाहेरी दिएकै कारण पीडित बालिका १७ असारमा बिहान अन्दाजी.४ बजे अपहरणमा परिन् । आफू बाख्रा बाँध्न घरबाट दैलोमा निस्किेको बेला चार चक्का गाडीमा पुगेका अन्जली महरासहित तीनजनाले कपडाले आँखा बाँधेर अपहरण गरेको जाहेरीमा उल्लेख छ । जनकपुरको पिडारी चौक स्थित सीएफसी. होटलमा ल्याए । त्यहाँ त्यसअघि अपहरण गरी पहिलो घटनाका प्रतिवादी ताहिर राइनका भिनाजु फिरोज राइन आइपुगे र केही व्यक्तिलाई फोन घुमाए । केही समयपछि २ जना प्रहरी जवान ड्रेसमै आइपुगे । ती प्रहरी जवान बरुण कुमार साह र नितेश सिंह रहेको पछि खुल्यो । उनीहरुले ताहिर राइनविरुद्ध दिएको जाहेरी फिर्ता लिन धम्क्याउन थाले र दुई रात त्यही होटेलमा बन्धक राखेर संचालकसहितले जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । ‘मलाई जाहेरी फिर्ता लेउ भनि कुटपिट गरी धाकधम्की दिएको र राति मुस्कान खातुनले तयार गरी होटलमा ग्राहकहरु निर लगेको, २ रात त्यहि होटलमा राखीएको र २ रातमा होटलको साहुजी नाम थाहा नभएको मसंग जबरजस्ती करणी गरेको र निज होटलका ग्राहक हरु समेत मसंग रात राप्त भरि जबरजस्ती करणी गरेको छ’
तेस्रो दिन अन्जली र ती दुई प्रहरीले जनकपुरधामको मुरलीचोक स्थित होटेल मधेश गेष्ट हाउसमा लगेको र त्यहाँ आफुलाई प्रहरी भन्ने बरुण, नितेश र राज भन्नेले पालैपालो जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । २० गतेमा प्रहरीको ड्रेसमै राज भन्ने प्रहरी जवान पुगेर मुद्दा फिर्ता लिन धाकधम्कीसँगै आफूमाथि जवरजस्ती करणी गरेको पनि जाहेरीमा भनिएको छ ।
१८ साउनदेखि ४ भदौसम्म त्यस होटलमै बन्धक बनाएर होटेल संचालक मोलवी भन्ने अजिज राइन, फिरोज राईन, होटेलका कामदार धिरज दाससहित २÷३ जना र दिनहु ४÷५ जजना ग्राहकसँग शारीरीक यौन शोषण गराउने दैनिकी बनेको पीडितले दिएको बयान छ ।
जाहेरीमा आठौंदिनमा होटेलबाट भाग्न खोज्दा उनीमाथि बेल्टले कुटपिट र ब्लेडले काटेर यातना दिएको उल्लेख छ ।
आठौंदिन साँझ ५ बजे होटलबाट भाग्न खोज्दा होटेल संचालक अजिज राइनले पछाडीबाट कपाल समातेर कोठा भित्र लगि फिरोजलाई बोलाए । अजिजले दुबै हात समाते र फिरोजले हातमा ब्लेडले ठाउँठाउँमा काटेर घाउ बनाइदिए । दुबैजानाले कुटपिट गर्दै फिरोजले पुनःजवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
त्यसको दुईदिनपछि पुनः प्रहरी जवान बरुण र नितेश प्रहरी ड्रेसमै पुगे र जवरजस्ती करणी गरेपछि यौनीबाट रगत बगेर तन्ना समेत भिज्दा संचालकलाई भन्दा कुनै वास्तै गरेनन् । १३ औं दिनमा अवस्था गम्भिर भएपछि होटल साहुले औषधि ल्याएर खान दियो । तर रगत बन्द नभएको र औषधी खाइरहेको अवस्थामा पनि ग्राहक पठाएर जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
४ गते भदौमा बिहान १०ः०० बजे होटल साहु अजिज राइनले आफूलाई खानाको लागि बोलाई प्रहरीलाई बोलाउँछु, प्रहरी आयो भने खाना खान आएकी हुँ भन्नु नत्र तिम्रो घरपरिवारलाई गाह्रो हुने धम्की दिएका थिए । १०÷१५ मिनेट पछि प्रहरी गाडी गएपछि आफूलाई जिल्ला प्रहरी कार्यालय र त्यसपछि महिला सेलमा आफूले डरले खान खान आएको भनि बयान दिएक र त्यसपछि सोही दिन प्रहरीले आवर संसार सेभ हाउसमा पठाइदिएको जाहेरीमा उल्लेख छ ।
त्यसपछि उपचारपछि अवस्था समान्य हुँदा भदौ ११ गते शान्ति पुनरस्थपना केन्द्रमा जिम्मा लगाउँदा उनी त्यसमै छिन् । बन्धक बनाएर होटेलमा राख्दा यौनीबाट रक्तश्राव हुँदा समेत उनीहरुले आफू र ग्राहकलाई जवरजस्ती करणी गर्न छाडेनन् ।
‘योनीबाट रगत बगेर पुरैः तन्ना भिजिन्थ्यो तर पनि ती राक्षसहरुले जबरजस्ती गर्न छोडदै नथियो । मेरो शरीर क्षतविक्षत बनाई दिएको छ । मैले खाना पिना छाडे पछि अनि औषधी ल्याई दिएको त्यस पछि मलाइ नशाको औषधि खुवाई के कस्तो बयान लिई जि.प्र.का.मा पेश गरेको छ’ पीडित बालिकाको बयान छ ।
त्यहाँ १७ दिनसम्म बन्धक बनाएर ताहिरमाथिको जाहेरी फिर्ता लिन यतानासँगै जवरजस्ती करणी, ग्राहकसँग पैसामा यौन शोषण र मुद्दा फिर्ता लिन यता गरेको जाहेरीमा उल्लेख छ ।
जेहरीमा होटेल मधेश प्रदेश र सिएफसीमा सधैँ राति–राति बालबालिकाहरुलाई फकाई फुलाई तथा अपहरण गरी ल्याएर जबरजस्ती शरीरको खरिद बिक्रि गर्ने गरेको उल्लेख छ । ‘केटीहरु चिचियाई रहन्छ तर त्यहाँ गुहार सुन्नेवाला कोहि हुँदैन’ बालिकाले भनेकी छन् ।
जबकी बालिकालाई १९ दिनसम्म बन्धक बनाएको होटेल मधेश प्रदेश गेष्ट हाउस मधेश प्रदेश प्रहरी कार्यालयको सयमिटर पर छेउमा छ भने पाँचसय मिटर दुरी भित्र जिल्ला प्रहरी कार्यालय नै छ ।
प्रहरी स्वयम संलग्न, घटना मिलाउन हरसम्भव प्रयास
महिला अधिकारकर्मीका अनुसार बालिकासँग सुरुमा ताहिर राइनले गरेको घटनाको जाहेरी र पछिल्लो घटनाको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन । पछिल्लो घटनामा प्रहरीकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले सकभर मिलाउने प्रयास गरेको थियो । २९ चैतमा अपहरणमा परेकी ताहिरको पंजाबाट फुत्किएर जाहेरी जिल्ला प्रहरीको सम्पर्कमा पुगेरकी थिइन् । तर प्रहरी स्वास्थ्य परीक्षणसम्म गरेनन् । पछि सरकारी वकिल कार्यालयको निर्देशन र राष्ट्रिय मानव अधिकार आयोगको दबाबको कारणले असारको पहिलो साता जाहेरी प्रहरीले दर्ता गर्यो । तर असार ११ गतेतिर विदेश उडिसकेका छन् ।
सुरुकै घटनामा प्रहरीको कमिकमजोरीले पछिल्लो जघन्य अपारधको घटना घटेको जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख अधिवक्ता विदुर कार्की बताउँछन् । ‘पहिले कै जाहेरीमा हामीले दर्ता गर्न भनेर निर्देशन दियौं । फाइल पठाएर पटक पटक फोन गरेर दबाब दियौं । तर समयमा प्रहरीले अनुसन्धान र दर्ता गरेन । त्यसको कारण दोस्रो जघन्य प्रकृतिको घटना भएको देखिन्छ’ उनले भने ।
दोस्रो घटनामा प्रहरीकै संलग्नता भएपछि प्रहरी झन् अझ् मिलाउने प्रयासमा थिए । सरकारी वकिलको कार्यालयले निर्देशन दिएको थियो । तर पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । ‘दोस्रो जाहेरीमा विभिन्न निकायहरुले चासो लिएको थियो । हामीले पनि प्रहरीलाई पटक पटक दबाब दियौं । अनि जाहेरी दर्ता भयो’ उनले भने ।
राष्ट्रिय मानव अधिकार आयोगले लियो एसपीसहितसँग बयान, कार्यालयमा झिकाएर संलग्न प्रहरीको पहिचान
सरकारी वकिल कार्यालयको निर्देशनलाई पनि प्रहरीले अटेर गर्न थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले किन दर्ता नगरेको भनेर जवाफसहित प्रहरी प्रमुख नरहरि रेग्मीसहितका पाँच प्रहरीको जवाफ र बयान नै लिएको थियो ।
जवरजस्ती करणीमा संलग्न प्रहरीको सनाखतको लागि पत्र काटेर शंकास्पद पाँच प्रहरीलाई आयोगको कार्यालयमा झिकाइएको थियो । र पीडितबाट सनाखतपछि आयोगले १९ साउनमा किन जाहेरी दर्ता नगरेको पत्र काटेको थियो । २५ गते जाहेरी दर्ता भएको प्रहरीले आयोगलाई जानकारी गराएको थियो ।
मानव अधिकार संरक्षणको कोणबाट प्रहरीको लापरबाही देखेपछि आयोगले त्यसमा पीडितको न्याको लागि भूमिका खेलेको आयोगका जनकपुर कार्यालय प्रमुख बुद्धनारायण साहनीले बताए ।
‘मानव अधिकार संरक्षणको कोणबाट समयमै जाहेरी दर्ता नगर्ने । विधि प्रक्रिया अबलम्बन गरेर अनुसन्धन नगर्ने जस्ता कुरामा लामोसमयसम्म काम नभएको हुनाले पीडितको न्यायको कुरा, उनको संरक्षणको कुरा, समानता लगायत मानव अधिकार संरक्षणको कुराहरु ओझेमा परेको हामीले देख्यौं । र आयोगले आफ्नो अनुसन्धान र कारबाही अघि बढाएको थियो’ प्रमुख साहनीले भने ।
गम्भीर प्रकृतिको अपाराधमा धनुषा प्रहरीको भूमिका शंकास्पद देखिएपछि सिआइबीको केन्द्रीय टोलिले आएर समेत अनुसन्धान गरेको थियो ।
एक महिला अधिकारकर्मीका अनुसार युवतीको आमा र मामालाई प्रभावमा पारेर होटेल संचालक र प्रहरीले २० लाखसम्म मुद्दा मिलाउने प्रयास गरेका थिए । ती महिला अधिकारकर्मीका अनुसार बालिकाले आफूलाई चरम यातना र यौन शोषन गरेको भन्दै दोषीहरुलाई कारबाहीको माग गरिन् ।
‘बालिकाको मामा र आमालाई मिलाउने प्रयास गरिसकेका थिए । त्यसमा प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । तर बालिकाले रुँदै कुनैपनि हालतमा आफूलाई न्याय चाहियो भनिरहिन्’ ती अधिकारकर्मीले भनिन् ।
दुईदिनपछि फुत्किन्छन, प्रहरीलाई थाहा हुन्छ । जाहेरी दिन्छ, स्वास्थ्य परीक्षणमा पनि काम अघि बढाएन । ओझेलमा पार्छ ।
दबाबपछि मात्र जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी दर्ता गरेको थियो । त्यसपछि मधेश प्रदेशका होटेल संचालक अजिज राइन, कामदार धिरजकुमार दास, प्रहरी जवान बरुण कुमार साह र नितेशकुमार महतोलाई पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।
यता धनुषाका प्रहरी उपरीक्षक रेग्मीले पहिलो र दोस्रो जाहेरी दर्ता गरेर समयमै प्रहरीले आफ्नो भूमिका निर्वाह गरेको दावी गरे ।
‘दुईवटै मुद्दा दर्ता भएको छ । पहिलेका मुद्दाको प्रतिवादी फरार छन् । विदेश गए भन्ने सुनिरहेका छौं । इन्टरपोल मार्फत ल्याउँछौं त्यसलाई । पछाडिकामा पनि केही केही भयो । अरु बाँकी छन्’ .
शैलेन्द्र क्रान्ति














