काठमाडौँ, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले जेनजी आन्दोलनमा पार्टी सहभागी रहेको खुलासा गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको स्विकारेका हुन् । पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनले बताए ।
उनले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरूको आन्दोलनमा सक्रिय भूमिका रहेको स्पष्ट पारे ।
तुलनात्मक रूपमा जेनजी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएको उनको स्पष्टोक्ति छ । झाले भने, ‘हाम्रो पार्टीमा जेनजी अहिले पनि हुनुहुन्छ ।
हाम्रो प्रतिनिधिसभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ । उहाँहरू पनि जानुभएको थियो । तत्कालीन केन्द्रीय सदस्य सुमनाजी‚ गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरू पनि जानुभएको थियो ।
अरू पार्टीको तुलनामा हामी सबैभन्दा बढी उपस्थित थियौँ तर हामीले कुनै पनि ठाउँमा रास्वपाको अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ । उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागी रहे पनि २४ गतेको घटनामा भने सहभागी नरहेको दाबी गरे ।














