काठमाडौं, ७ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई सरकारको सबैभन्दा महत्वपूर्ण कार्यको रूपमा अघि बढाइएको बताएकी छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता बताएको छ ।
उनका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी, भयरहित र मितव्ययी बनाउनु सरकारको प्रमुख जिम्मेवारी हो । उनले यसका लागि निर्वाचन आयोगलाई स्रोत, साधन र जनशक्ति तत्काल उपलब्ध गराइने आश्वासन पनि दिइन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनकालीन शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था गर्न, सबै सरोकारवालाहरूसँग निरन्तर संवाद राखी अनुकूल वातावरण निर्माण गर्न र निर्वाचन तयारीका सबै कामलाई ढिला नगरी अघि बढाउन आग्रह गरेकी छन् ।
त्यस अवसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक पर्ने मतपेटिका लगायतका अधिकांश सामग्री मौज्दातमा रहेको र बाँकी सामग्री स्वदेशमै उत्पादनलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक तरिकाले खरिद गर्ने तयारी भएको जानकारी दिएका छन् ।
–––














