जनकपुर, ६ असोज । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ ।
आज पहिलो दिन घटस्थापना पर्व मनाइँदैछ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म उल्लास र भक्तिभावका साथ बडादशैं मनाइन्छ ।
पहिलो दिन वैदिक परम्पराअनुसार घर–घरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । पूजाघर वा दशैं घरलाई गाईको गोबरले लिपपोत गरेर पवित्र बनाइन्छ ।
त्यहाँ पवित्र नदी वा चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा राखिन्छ । दुर्गा देवीलाई प्रिय मानिने जौको जमरा विजया दशमीका दिन देवीलाई अर्पण गरी टीकासँगै प्रसादको रूपमा ग्रहण गरिन्छ, जसलाई समृद्धिको प्रतीक मानिन्छ । घडामा दुर्गा देवीको आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ ।
स्थापना गरिएको कलशको जललाई पवित्र मान्दै विजया दशमीमा अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । कसैकसैले जौसँगै गहुँ वा मकै पनि रोप्ने प्रचलन देखिन्छ, तर शास्त्रअनुसार जमरा राख्दा जौ मात्र प्रयोग गर्नुपर्ने धर्मशास्त्रविद्हरू स्पष्ट पार्छन् । घटस्थापनादेखि दशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ ।
यस अवधिमा देवी दुर्गाका नौ रुपको विशेष पूजा हुन्छ — पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री । सातौँ दिन फूलपाती भित्र्याउने परम्परा छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने चलन छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रहरूको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायत देशभरका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लाग्छ ।
दशैंलाई असत्यमाथि सत्यको र दुष्ट शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ ।














