काठमाडौं, ४ असोज । काठमाडौँमा भएको जेनजी प्रदर्शनमा सहभागी हुम्ला घर भएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता छन् ।
भदौ २४ भएको जेनजी आन्दोलनमा सामेल हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्ने गरेका थुक्तेन अहिलेसम्म सम्पर्कमा नआएका हुन् ।
बुबा टसी छिरिङका अनुसार भदौ २३ गते भने उनी जेनजी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएका थिए । तर होटेलमा काम गर्ने थुक्तेन भदौ २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर फेरि प्रदर्शनमा गएका थिए ।
तर त्यसयता उनी कोठा नफर्केको बुबा टसी छिरिङले बताए । छिरिङका अनुसार एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँमा खोजी गर्दा पनि उनी भेटिएका छैनन् ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा अहिलेसम्म बेपत्ता रहेको उनले बताए । छोरा खोजिदिन उनले आग्रह गरेका छन् ।














