काठमाडौँ, ३ असोज । जेनजी आन्दोलनले राजनीतिक दलका केही नेताहरूको घर र कार्यालयमा तोडफोड भए पनि यसको सबैभन्दा ठूलो प्रभाव साना दलभित्र देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र नेतृत्व र नीतिबारे गम्भीर प्रश्न उठ्न थालेका छन् । जेलमुक्त भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सक्रियताले सुरुमा पार्टीभित्र उत्साह जगाए पनि त्यसपछिका घटनाले आन्तरिक असन्तोष बढाएको छ ।
उनका समर्थकहरूले ‘सिंह फर्कियो’ भन्दै स्वागत गरे पनि जेनजी आन्दोलनका युवाहरूले लामिछानेको रिहाइको विरोध गरेका थिए। यही विषयमा पार्टीभित्र आलोचना भएपछि लामिछाने फेरि स्वेच्छाले जेल फर्किएका छन् । यही घटनाक्रमलाई कारण देखाउँदै नेतृ सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। त्यस्तै, केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ‘दलहरूको रूपान्तरण अपरिहार्य छ’ भन्दै चार बुँदे प्रस्ताव सार्वजनिक गरेकी छन् ।
जनमत पार्टीमा पनि असन्तोष चुलिएको छ। उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा छ नेताले अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गर्दै विद्रोह गरेका थिए। माग पुरा नभएपछि ती नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
नेता खानले “देश रूपान्तरणको बाटोमा लागेको छ, दलहरूले पनि यथास्थितिमा बस्नु हुँदैन” भन्दै यसलाई परिवर्तनको सुरुवातका रूपमा लिएका छन्। यसैबीच, अध्यक्ष राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले राजीनामा नदिएको विषयमा स्पष्टीकरण मागेका छन्।
नाउपामा पनि विभाजनको संकेत स्पष्ट भएको छ। संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठसँगको विवादपछि ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ गठन गर्ने घोषणा गरेका छन्। श्रेष्ठले पद नछाड्दा पटक–पटकको प्रयास असफल भएपछि चौधरीले नयाँ पार्टी बनाउने निर्णय गरेका हुन्।














