काठमाडौं, ३ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीको रूपमा परिभाषित गरेकी छिन् ।
संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडीखेलमा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै उनले हालको राजनीतिक संकट र जेन जी पुस्ताले उठाएका मागलाई लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन नसक्दा सिर्जना भएको परिणामका रूपमा चित्रण गरिन् ।
उनले संघीय गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका, कानूनी शासन र सुशासनजस्ता मूल्यहरूमा दृढ रहन आवश्यक रहेको बताइन् । सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा पुरा गर्न प्रतिबद्ध रहेको उनले दोहोराइन् ।
रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, पारदर्शी शासन, कानूनी समानता, भ्रष्टाचारको अन्त्य र दिगो विकास सबै पुस्ताको साझा राष्ट्रिय एजेन्डा हुन्,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले आफू कुनै पदलोभ वा व्यक्तिगत आकांक्षाले होइन, तर संक्रमण व्यवस्थापनका लागि युवापुस्ताको आग्रहमा प्रधानमन्त्री बनेको स्पष्ट पारिन् । उनले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई सत्ताको हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोराइन् ।
देश संकटमा परेको बेला म चुप लागेर बस्न सकिनँ,’ उनले भनिन्, ‘संविधानअनुसार छ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिन्छ ।














