जनकपुर, २ असोज । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी पूर्व अध्यक्ष मोनिका झाको नेतृत्वमा एक पत्रकारहरूको टोलीले जनकपुर विमानस्थलमा पार्किङ शुल्क असुलीको नाममा भइरहेको सर्वसाधारणमाथिको दुव्र्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै विमानस्थल प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।
उक्त टोलीले जनकपुर विमानस्थल प्रमुख तेज बहादुर बुढथापालाई भेटी हाल विमानस्थल परिसरमा देखिएको समस्या र ठेकेदारको अव्यवस्थित व्यवहारबारे औपचारिक रूपमा जानकारी गराएको हो ।
टोलीले ठेकेदारबाट हुने दुव्र्यवहारका कारण यात्रु तथा सर्वसाधारण हैरानीमा परेको उल्लेख गर्दै तत्काल समाधान खोज्न आग्रह गरेको छ ।
विमानस्थल परिसरको सवारी पार्किङ तथा क्यान्टिन सञ्चालनको ठेक्का पाएको ‘लक्ष्मी कन्ट्रक्सन’का सञ्चालक जयनाथ साहमाथि यात्रु र आगन्तुकहरूसँग दुव्र्यवहार गरेको आरोप लागेको छ । साहले पार्किङ शुल्क असुलीको नाममा पटक–पटक यात्रु तथा सर्वसाधारणमाथि अशिष्ट व्यवहार गर्दै आएका छन् ।
साहको यस्तो व्यवहारको भिडियो हालै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जनआक्रोश बढेको छ । भिडियोमा देखिएको अभद्र व्यवहारले जनकपुर विमानस्थलको छविमा समेत नकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन् ।
पत्रकार समूहको उपस्थिति र ध्यानाकर्षणपछि विमानस्थल प्रमुख बुढथापाले उक्त विषयमा आवश्यक अनुसन्धान गरी उचित कदम चालिने आश्वासन दिएका छन् ।
















