काठमाडौं, १ असोज । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अब संसद बैठक नबस्ने भएको छ ।
बुधबार क्षतिको अवलोकनका लागि पुगेका अन्तरिम सरकारका मन्त्रीहरूले सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट संसद बैठक चल्ने बताएका हुन् ।
संघीय संसदका दुवै सदनको बैठक चल्दै आएको बीआईसीसी सम्मेलन केन्द्रमा गएको भदौ २३ र २४ गते आगजनी र तोडफोड भएको थियो ।
बुधबार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिए ।














