काठमाडौं, ३० भदौ । निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नै कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीबारे जिल्ला प्रहरी कार्यालय काठमाडौंमा औपचारिक उजुरी दर्ता गरेका छन् ।
२४ भदौमा लैनचौरस्थित ‘एनसेल आइकन’ कार्यालयमा जेनजी आन्दोलनको नाममा केही समूहले भवनमा प्रवेश गरी ठूलो तोडफोड, आगजनी र चोरी गरेको एनसेलले बताएको छ ।
कम्पनीले उजुरीमा सम्पूर्ण घटना सीसीटीभी फुटेजसहित उपलब्ध गराउँदै दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
उजुरीअनुसार, आक्रमणकारीहरूले
सुरक्षा कर्मचारीलाई धम्क्याएर कोठामा थुने,
भवनको सिसा फुटाएर भित्र प्रवेश गरे,
ग्राहक सेवा केन्द्र, रिसेप्सन र कार्यालयका सबै तलामा उपकरण तोडफोड गरे,
महत्त्वपूर्ण कागजात, नगद र सेफ लुटे,
कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, कफी मेसिन, फिटनेस उपकरण लगायत मूल्यवान सामग्री डकैती गरे,
कर्मचारीका व्यक्तिगत सामान र गहना समेत खोसे,
कम्पनीका गाडी र कर्मचारीका निजी सवारी साधन जलाइदिए ।
एनसेलले घटनाबाट ठूलो आर्थिक र भौतिक क्षति भएको बताउँदै क्षतिको पूर्ण विवरण तयार पारिरहेको र थप विवरण प्रहरीलाई उपलब्ध गराउने जनाएको छ ।














