काठमाडौं, २७ भदौ । कास्की जिल्लामा तोडफोड भएका प्रहरी कार्यालयहरू पुनर्निर्माण गर्न स्थानीय समुदाय र व्यापारीहरू सक्रिय भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार व्यापारी र स्थानीय बासिन्दाले पोखराका सबै प्रहरी भवनको मर्मत तथा निर्माणको जिम्मा लिएर काम सुरु गरेको छ ।
समुदायले आवश्यक लत्ता–कपडा, फर्निचर, रङरोगनदेखि भौतिक संरचना निर्माणसम्मका सबै काम आफ्नै पहलमा गर्न थालेको बस्नेतले जानकारी दिए ।
गत २३ भदौमा जेनजी आन्दोलनका क्रममा पोखराका धेरै प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो, जसका कारण प्रहरीको नियमित सेवा प्रभावित भएको थियो ।
अहिले भने स्थानीय सहभागितामा ती कार्यालयहरू छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।














