जनकपुर, २७ भदौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने प्रस्तावलाई अत्यन्त सकारात्मक रूपमा लिएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै यादवले लेखे, “अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ ।
“ उनले निष्पक्ष र योग्य व्यक्तित्वलाई नेतृत्वमा ल्याउनु आवश्यक रहेको समेत उल्लेख गरेका छन् । यिनै विषयमा बिहीबार रातभर राष्ट्रपति कार्यालय शीतल निवासमा जारी राजनीतिक दलहरूको प्रतिनिधिसँगको जेनजीसहितको वार्तामा सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।
यद्यपि अन्तिम निष्कर्षमा भने अझै पुगिएको छैन । अहिलेको प्रमुख राजनीतिक द्विविधा भनेको संसद् विघटन गर्ने कि नगर्ने भन्नेमा केन्द्रित रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल यस विषयमा विभिन्न राजनीतिक दलहरूसँग निरन्तर छलफलमा छन् । आज पनि वार्ता जारी रहने जनाएको छ ।














