काठमाडौँ, २६ भदौ । जेनजी प्रदर्शनका कारण लामो समय रक्षात्मक अवस्थामा रहेको काठमाडौँ उपत्यकामा प्रहरीले पुनः ड्युटी सुरु गरेका छन् ।
भदौ २४ मा प्रदर्शनकारीहरूले उपत्यकाका प्रहरी वृत्त र प्रभागमा आगजनी गर्दै हतियारसमेत लुटेका थिए ।
आक्रमणपछि डीएसपीसहितका प्रहरीहरू नजिकैका सैनिक ब्यारेकमा सुरक्षित रहेका थिए । सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा ल्याएपछि प्रहरीहरू पुनः फिल्डमा फर्किएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँका सडकमा सुरक्षाका लागि ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘हामीले उपत्यकामा प्रहरी ड्युटी पुनः सुरु गरेका छौँ ।’
तर उपत्यकामा रहेका सबै प्रहरी वृत्त र प्रभागका कर्मचारीहरू भने अझै पूर्ण रूपमा काममा फर्किएका छैनन् । थानकोट, दरबारमार्ग, सातदोबाटो, बानेश्वरलगायतका वृत्तमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडका कारण कार्यालयहरू क्षतिग्रस्त छन् ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको भवनमा पनि आक्रमण प्रयास भएको थियो । तर प्रहरीहरूले रणनीतिक सुरक्षा प्रयोग गरेर २०८१ भदौमा उद्घाटन गरिएको भवन जोगाउन सफल भएका थिए ।
सशस्त्र प्रहरीको ट्रक कब्जा गरेर करिब २ सय मानिस जिल्ला प्रहरी परिसर कब्जा गर्न पुगेका थिए । तर रणनीतिक ढंगले प्रतिकार गर्दै भवन सुरक्षित राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जनाए । उनका अनुसार, ‘सुरक्षा रणनीति प्रयोग नगरेको भए भवन कब्जामा पथ्र्यो ।’














