काठमाडौं, २६ भदौ । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।
उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए ।
उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । २०६९ वैशाख १८ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए ।
अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।














