काठमाडौं, २६ भदौ । सिंहदरबार परिसर भित्र थुप्रिएको भग्नावशेष र फोहोर हटाउन निजामती कर्मचारीहरू आफैं अघि आएका छन् ।
सामाजिक सञ्जालका विभिन्न समूहमार्फत कर्मचारीहरूले आ–आफ्नो मन्त्रालय र कार्यालयमा उपस्थित भई सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
विशेषतः ‘सार्वजनिक नीति संवाद’ नामक समूहमा गरिएको आह्वानपछि धेरैजसो कर्मचारीले सक्रिय हुने प्रतिबद्धता बताए । समूहमा लेखिएको सन्देशमा भनिएको छ, “सिंहदरबारका सबै कर्मचारीहरू आजैदेखि आफ्नो मन्त्रालय र निकायमा उपस्थित भएर सरसफाइ सुरु गरौं ।
फाइल, अभिलेख र कागजात सुरक्षित राख्दै कार्यस्थललाई व्यवस्थित बनाऔं ।”
कर्मचारीहरूले निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधिको हैसियतले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै
अत्यावश्यक सेवामा कुनै अवरोध नआउने गरी पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
यसअघि, आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतमा कार्यरत कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ थालेका थिए । उनीहरूले करिब २५ हजार मुद्दामध्ये ३ हजार फाइल सुरक्षित गर्न सफल भएका छन्, तर धेरै कागजात आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
तर सिंहदरबारभित्र भने सुरुवाती पहल नदेखिएपछि कर्मचारीहरूले आफैं सामूहिक रूपमा सरसफाइ अभियान सुरु गरेका हुन् । हाल नेपाली सेनाले त्यहाँ कार्यरत कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाएको छ ।














