काठमाडौँ, २५ भदौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् ।
भारतीय मिडिया न्युज–१८ सँगको कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् ।
उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको प्रस्तावलाई स्वीकार गरेँ,’ उनले भनिन् ।
कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबारलगायत सबै सरकारी भवन जलेकोमा उनले दुःख व्यक्त गरेकी छिन् । सरकारको नेतृत्व गरेपछि आफ्नो पहिलो चरणको काम भ्रष्टाचार नियन्त्रण हुने बताइन् ।
नेपाली राजनीतिमा सधैँ समस्या भइरहेको भन्दै कार्कीले अब जेनजी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्ने बताइन् । नयाँ वातावरण बनाउँछौँ ।
यो समस्या रोक्छौँ,’ उनले भनिन् । कार्कीले नेपाल–भारतबिचको सम्बन्धबारे पनि बताएकी छिन् । ‘भारत सरकारसँगको सम्बन्ध राम्रो छ । भारतमा हाम्रो धेरै नाता नै छ ।
हाम्रो धेरै सद्भाव छ । उनले भाँडा नजिक हुँदा बजेर कहिलेकाहीँ आवाज आउनु स्वाभाविक भएको भन्दै नेपाल र भारतबिचको सम्बन्ध सधैँ मजबुत रहेको बताइन् ।














