एजेन्सी । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसद्को माथिल्लो सदनमा बहुमत गुमाएको थियो । त्यसबेलादेखि इसिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण भएको भनिएको थियो ।
जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा नै तल्लो सदनमा बहुमत गुमाएको थियो ।
चुनावको समयमा प्रधानमन्त्री इसिबाले आफू पदमा रहने बताएका थिए । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणका रूपमा उल्लेख गरेका थिए ।
इसिबाले त्यतिबेला भनेका थिए, ‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो ।
उनको राजीनामापछि दलको नेताको चुनाव हुनेछ । एलडीपीमा दलको नेताको सबैभन्दा मुख्य दाबेदार ६४ वर्षीया सानाए ताकाइची हुन् । उनी जापानको प्रथम महिला प्रधानमन्त्री बन्न पनि सक्छिन् ।
उनले गृह, आर्थिक सुरक्षाजस्ता मन्त्रालय सम्हालिसकेकी छन् । अघिल्लो वर्ष उनी इसिबासँग पराजित भएकी थिइन् ।














