जनकपुर, २० भदौ । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध प्रमुख मधेसवादी दलहरूले संविधान संशोधन नगरे र ल्याइएको भूमि विधेयक यथास्थितिमा पास गरेमा तीव्र र निर्णायक आन्दोलनको चेतावनी दिएका छन् ।
जनकपुरमा शुक्रबार आयोजित “वर्तमान राजनीतिक अवस्था–जनजागरण अभियान“ अन्तर्गतको कार्यक्रममा सहभागी नेताहरूले संविधान संशोधन, भूमि विधेयकको खारेजी, संघीयता संरक्षण, र मधेसका हकहितका विषयमा साझा मोर्चा बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रमको प्रमुख वक्ताका रूपमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा मोर्चाका संयोजक महन्थ ठाकुरले भूमि विधेयकलाई “मधेसमाथिको षड्यन्त्र” को संज्ञा दिँदै त्यसलाई कुनै हालतमा पास हुन नदिने स्पष्ट पारे।
उनले विगतमा नदी, जंगल, सडक र जमिनमा बाहिरी पुनर्वास गरिएको र अब त्यसलाई कानुनी मान्यता दिने प्रयास भइरहेको बताए । सरकारको भूमि विधेयक मधेस विरोधी हो ।
पास भएमा मधेससहित देशभर ठूलो आन्दोलन हुनेछ,” ठाकुरले चेतावनी दिए । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्तारुढ दलहरू (काँग्रेस र कम्युनिष्ट) माथि संघीयता समाप्त पार्ने प्रयास गरेको आरोप लगाए ।
उनले संविधानमा प्रतिनिधित्वको असमानता, विकास बजेटको विभेदपूर्ण वितरण, र अधिकारविहीनताको उल्लेख गर्दै आठौँ संविधान निर्माणका लागि आन्दोलन अपरिहार्य भएको बताए ।
संविधान संशोधन नगरे मधेसवादी दलहरू आन्दोलनमा उत्रिने छन्,” यादवले भने । राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टीका अध्यक्षले मधेसमाथि निरन्तर विभेद भइरहेको भन्दै फुट होइन जुटको आवश्यकता औंल्याए ।
उनले निर्णायक आन्दोलनको तयारीमा जुट्न सबै नेताहरूलाई आह्वान गरे । हृदयेश त्रिपाठी जनता प्रगतिशील पार्टीका अध्यक्षले भूमिहीनलाई लालपुर्जा वितरणको नाममा चुरे क्षेत्र नष्ट गर्ने नीति ल्याएको भन्दै त्यसविरुद्ध स्पष्ट रूपमा बोले ।
उनले संविधान संशोधनमार्फत मात्र भावनात्मक र भौगोलिक विभेद अन्त्य हुने धारणा राखे । त्यस्तै, तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले विगतका गल्तीहरू आत्मसात् गर्दै समीक्षात्मक ढंगले मोर्चा अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भूमि विधेयकविरुद्ध मधेसमै आन्दोलन गर्ने चेतावनी समेत दिए । कार्यक्रममा अन्य नेताहरूले पनि मधेसमा भएका विगतका उपलब्धिहरू जोगाउन एकता, जनजागरण र सशक्त आन्दोलन आवश्यक रहेको बताए ।
तमलोपाका वरिष्ठ नेता डा. विजय सिंहले संघीयता प्रभावकारी बनाउन कृषि, शिक्षा, पानी, र विकेन्द्रीकरणका मुद्दाहरू समाधान गर्नुपर्ने बताए । उनले मधेस आन्दोलनकारीबीचको फुट अन्त्य गरी सशक्त जनसंघर्ष आवश्यक भएको उल्लेख गरे ।
लोसपा महासचिव परमेश्वर साहले आन्दोलनलाई व्यवस्थित बनाउन नेताहरूलाई प्रशिक्षण दिने कार्यमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जसपाकी नेतृ सुरिता साह, तमलोपा नेता असगर अली र नागरिक मुक्ति पार्टीकी प्रमिला सिंह लगायतले मधेसको हकहित र अधिकार जोगाउन इमानदार एकता अपरिहार्य भएकोमा जोड दिए ।














