जनकपुर, १८ भदौ । मधेश प्रदेशमा पछिल्लो समय सर्पदंशका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन् ।
विशेष गरी वर्षा र गर्मीको मौसममा सर्पको सक्रियता बढ्ने भएकाले यो समस्या अझ गम्भीर रूपमा देखिएको हो । प्रादेशिक अस्पताल जनकपुरका अनुसार हाल दैनिक पाँचदेखि छ जना सर्पदंशका बिरामी आपत्कालीन सेवा कक्षमा पुग्ने गरेका छन् ।
अस्पताल अनुसार चैत २०८० यता मात्रै १,११५ जना सर्पदंशका बिरामी उपचार गराउन आएका छन् । यीमध्ये ६० जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ,” तर समयमै उपचार भएकाले मृत्युदरमा अघिल्लो वर्षहरूको तुलनामा कमी आएको छ ।
तर, अस्पतालका तथ्याङ्कअनुसार हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । सर्पदंशका घटनामा ढिला उपचार वा परम्परागत विधिमा निर्भर रहनु प्रमुख समस्या मानिन्छ ।
स्वास्थ्यकर्मीहरूद्वारा सुझाव
विशेषतः वर्षायाममा सर्पदंशको जोखिम उच्च हुने भएकाले स्वास्थ्यकर्मीहरूले निम्न सावधानी अपनाउन आग्रह गरेका छन ।
गोठ र घर वरपर सरसफाइमा ध्यान दिनु
१. भुइँमा सुत्दा सर्पले टोक्ने सम्भावना बढी हुने भएकाले सुरक्षित स्थानमा सुत्नु
२. खेतबारी वा झाडीमा काम गर्दा जुत्ता र पाइन्ट लगाउने
३. सर्पले टोकेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा पुग्ने, घरेलु उपचारमा ढिलो नगर्नु
सरकार र स्थानिय तहको भूमिका आवश्यक
स्थानीय स्वास्थ्य केन्द्रहरूमा एन्टि–भेनम (सर्पविष विरोधी औषधि) पर्याप्त मात्रामा उपलब्ध गराउने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने माग स्वास्थ्यकर्मी र नागरिकहरूले उठाएका छन् ।














