उदयपुर, १८ भदौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा एक जना व्यवसायी उदयपुरबाट पक्राउ परेका छन् ।
उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते २ सय बोरा युरिया मल बरामद भएको थियो ।
किसानलाई उपलब्ध गराउन ल्याइएको युरिया मल लुकाएर राखेको फेला पारेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएको थियो । छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धानका लागि व्यवसायी चौधरीलाई नियन्त्रणमा लिएको प्रजिअ लुइँटेलले बताए ।
पक्राउ परेका चौधरीमाथि उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।














