काठमाडौं, १८ भदौ । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ ।
तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।
‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन् ।
बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए । तियानमेन स्क्वायरमा सेनाको टोलीले परेड प्रदर्शन गरेको थियो ।
औपचारिक समारोह सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सरिक भएपछि प्रधानमन्त्री ओली आजै काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।














