जनकपुर, १७ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अब मधेश प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीमा आएको दाबी गरेका छन् ।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत साढे सात वर्षदेखि मधेशी दलहरूले सरकार सञ्चालन गरिसकेको उल्लेख गर्दै, गठबन्धनको सहमतिअनुसार मधेश प्रदेशको सरकार लोसपाले नेतृत्व गर्नुपर्ने बताए ।
उनका अनुसार सातै प्रदेशमा सत्ता साझेदारीको ढाँचा बनाइएको छ, जसअनुसार तीन–तीन प्रदेश नेपाली कांग्रेस र एमालेले नेतृत्व गर्ने र मधेश प्रदेश मधेशी दललाई दिने सहमति भएको हो ।
अहिल्यै सरकार परिवर्तनको सम्भावना नरहेको भन्दै उनले रुपन्देही उपनिर्वाचनपछि परिस्थिति बदलिन सक्ने संकेत पनि गरेको छ । अध्यक्ष ठाकुरले केन्द्रमा गठबन्धन स्थिर रहेको भन्दै सरकार २०८४ सम्म टिक्ने विश्वास व्यक्त गरे ।
उनले लोसपा सरकारमा बसेर जनताका हकहितका काम गर्ने र आवश्यक परे शान्तिपूर्ण आन्दोलन पनि अघि बढाउने बताएको छ । मधेशमा खडेरी र खानेपानीको समस्या गम्भीर बनेको तर सरकारले ध्यान नदिएकोप्रति असन्तोष जनाउँदै उनले संसद् र सरकार दुवैमा निरन्तर आवाज उठाइरहेको उल्लेख गरे ।
प्रधानमन्त्रीसँगै सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरिसकेकाले घोषणा गरिएको ५०० डिप बोरिङ अझै नपुगेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए ।
उनले जनसंख्याका आधारमा बजेट वितरण हुनुपर्ने माग राख्दै केन्द्रमा मधेशबाट जाने राजस्वको कम्तीमा ३५ प्रतिशत फिर्ता आउनुपर्ने बताए । “तर हालसम्म २० प्रतिशत पनि आएको छैन,” ठाकुरले टिप्पणी गरे।














