काठमाडौं, १५ भदौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सस्तो र सर्वसुलभ सेवा सुनिश्चितता, तथा चिकित्सा शिक्षा ऐनको अक्षरशः कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
आइतबार कैलालीबाट डा केसीले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरुको सिट वृद्धि फिर्ता गर्ने साथैे इलाम,उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त संचालनमा ल्याउने लगायत यस अघि भएका सम्झौताहरु ( एकीकृत प्रतिष्ठान ऐन र विश्वविद्यालय पदाधिकारी नियुक्ति उच्च शिक्षा ऐन, गैरनाफामुलक मेडिकल शिक्षा , दरबन्दी सम्बन्धि आदि )कार्यान्वयन गर्न माग गरेका छन् ।
त्यस्तै लिपुलेकमा भइरहेको अतिक्रमण रोकि अतिक्रमित नेपाली भुमि फिर्ता गर्न भारतलाई तथा हाल चलिरहेका नर संहारकारी युद्धहरु रोक्न रुस र इजरायललाई माग राख्दै तीन दिने सत्याग्रह सुरु गरेको उनले विज्ञप्तिमार्फत बताएका छन् ।
डा.केसीका अनुसार हालै चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपमा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय चिकित्सा शिक्षा ऐनको मर्मविपरीत रहेको बताएका छन् ।














