काठमाडौं, १४ भदौ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएका छन् ।
नगरप्रमुख खानलाई आज शनिवार बिहान करिब ९ बजे हृदयघात भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा नं. ३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताएको हो ।
शुक्रबार मात्र मलेसिया भ्रमणबाट घर फर्केका मेयर खान राति सम्म ठिकठाक थियो । तर बिहान उठेपछि अचानक अस्वस्थ महसुस भएपछि उपचारका लागि लैजाने क्रममा निधन भएको वडाध्यक्ष मुसलमानले जनाए ।
नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख खानको उमेर ७० वर्ष थियो । उनको अन्तिम संस्कार आजै साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत धार्मिक विधिअनुसार गरिने जनाइएको छ ।














