काठमाडौं, भदौ १३ । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् ।
न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसै क्रममा विशेष अदालतका सदस्यका रूपमा पनि नयाँ नाम तोकिएको छ ।
उच्च अदालत वीरगञ्जका न्यायाधीश नारायणप्रसाद पौडेल, सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासकै न्यायाधीश उमेश कोइरालालाई विशेष अदालतका सदस्य बनाइएको छ ।
प्रचलित कानुनअनुसार विशेष अदालतको अध्यक्ष र सदस्यहरू सरकारकै निर्णयमा न्याय परिषद्को परामर्शसहित तोकिँदै आएका छन् । सोही प्रावधानअनुसार शुक्रबारको बैठकले नयाँ अध्यक्षसहित सदस्यहरू तोकेको हो ।
यसअघि विशेष अदालतको अध्यक्ष रहेका टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ । विशेष अदालतमा कार्यरत हालसम्मको न्यायाधीशहरूको टिम करिब दुई वर्षअघिदेखि स्थिर रहेकोमा नयाँ नेतृत्वसँगै फेरबदल भएको छ ।














