काठमाडौं, भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ गतेसम्म गर्न लागेको चीन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृति दिएका छन् ।
शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चीन भ्रमण स्वीकृत भएको बताए । प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्दै छन् ।
उनी त्यहाँ हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
सेप्टेम्बर १ मा तियानजिनमा आयोजना हुने “एससीओ प्लस समिट“ लाई सम्बोधन गर्ने र सम्मेलनमा सहभागी अन्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । यसैगरी, जापानी उपनिवेशविरुद्धको विजयको ८० औं वार्षिकोत्सवका अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा पनि प्रधानमन्त्री ओली उपस्थित हुनेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायतका व्यक्तिहरू रहनेछन् ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।














