जनकपुर, १२ भदौ । मधेश प्रदेशसभा पछिल्ला दिनहरूमा गम्भीर राजनीतिक गतिरोधको सामना गरिरहेको छ । बिहीबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् ।
विरोधको केन्द्रमा रहेका छन् – मधेश प्रदेशका अर्थमन्त्री सुनिलप्रसाद साह । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअषिश यादवले संसद्को बैठकमा स्पष्ट शब्दमा अर्थमन्त्री साहको राजीनामा माग गरे ।
उनका अनुसार प्रदेश सरकारले प्रतिपक्षको अनुपस्थितिमा र संसद्लाई छल्दै बजेट प्रस्तुत गरेको छ, जुन संसदीय मर्यादाविपरीत छ । “अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न दिने छैनौं,” यादवले भने ।
सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले आग्रह गरे तापनि, प्रतिपक्षका सांसदहरू आफ्नो अडानबाट नहटेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
बिहीबारको बैठक प्रमुख प्रतिपक्ष जसपा मात्र नभई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसदहरूले पनि बहिष्कार गरेका थिए । यिनै दलहरूले बिहान बसेको सर्वदलीय बैठक समेत बहिष्कार गरेका थिए । विवादको मूल विषय भनेको बजेट प्रक्रिया नै हो ।
प्रदेश सरकारले प्रस्तुत गरेको मूल बजेट दस्तावेज रेडबुक ४६१ पृष्ठको थियो । तर, प्रतिपक्षको विरोधपछि गठित कार्यदलले सरकार संसद्लाई छल्दै ३०५ पृष्ठ मात्रको बजेट पास गराएको खुलासा गरेको छ ।
विपक्षी सांसदहरू यसलाई लोकतान्त्रिक अभ्यासमाथिको हस्तक्षेप भन्दै आलोचना गर्दै आएका छन् । यता सत्तारूढ पक्ष भने प्रतिपक्षको आरोप निराधार भएको दाबी गर्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरिरहेको छ ।
तर प्रतिपक्ष भने अर्थमन्त्री साहले राजीनामा नगरेसम्म संसद चल्न नसक्ने अडानमा अडिएको छ ।














