जनकपुर, ९ भदौ । रौतहटको माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ भएका छन् ।
प्रहरीको अनुसार पक्राउ परेका ती संदिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेको छ । ‘सोधपुछका एक जनालाई नियन्त्रणमा लिएका छौं ।
हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु फेला परेको छ । थप बुझ्ने र भेरिफाई गर्ने काम हुँदैछ’ एक जना अनुसन्धान अधिकृतले बताए ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।
साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन् । त्यो राति उनी घर फर्किनन् ।
राति १० बजेतिर नै संकास्पद अवस्थामा सडकमा सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको थियो ।
गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।
आइतबार बिहान भने प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव भेटिएको थियो ।














