काठमाडौं, ८ भदौ । अमेरिकासँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेको हो । नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको उनको आशंका छ ।
एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढंगबाट अनुमोदन भएको भन्दै खनालले यस सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्याएको टिप्पणीमा बताए ।
संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको समेत जनाए ।
पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाएको छ । त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दुःख भोग्नुपरेको समेत जनाएको छ ।














