जनकपुर, ६ भदौ । सहकर्मीमाथि कुटपिटको विरोधमा धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पाँचदिनदेखि धर्नामा रहेका छन् ।
गत साउन २३ गते बटेश्वर गाउँपालिका–५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि हातपात भएपनि दोषीमाथि कारबाही नभएको भन्दै गत सोमबारदेखि कामकाज ठप्प परेर धर्ना बसेको हो ।
स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको आरोप कर्मचारीहरूको छ । शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार महतोका अनुसार घटना पश्चात् जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा दोषीहरूलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी समेत परेपनि दर्ता नभएको र कारबाही नगरिएको भन्दै धर्ना बस्नु परेको कर्मचारीहरूको भनाइ छ ।
तीन बुँदे माग राख्दै गाउँपालिकाका सम्र्पूण स्वास्थ्यका कर्मचारी गत सोमबारदेखि हातपात गर्नेमाथि कारबाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र भयरहित वातावरणमा काम गर्न पाउ माग गर्दै शान्तिपुर स्वास्थ्यचौकीमा धर्ना बस्दै आएको छ ।
शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज महतोका अनुसार वास्थ्य चौकीको मुल ढोकामै रहेको पिपलको बोट सार्ने विषयमा आरोपितहरूले हातपात गरेको थियो ।














