काठमाडौँ, २९ साउन । वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ भएको हो । डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो ।
मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ भएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, शिशुवा, कास्कीसँगको समन्वयमा साउन २८ गते सिंहलाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेका २९ वर्षीय सिंहको स्थायी ठेगाना बझाङ जिल्ला, बङ्गल नगरपालिका वडा नं ६ भए पनि हाल उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा बस्दै आएका थिए । प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाएको हो ।














