जनकपुर, २० साउन । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले आफ्नो प्रादेशिक भवन निर्माणका लागि जनकपुर उपमहानगरपालिका–४ स्थित गुठी संस्थानको चार कठ्ठा जग्गा औपचारिक रूपमा प्राप्त गरेको छ ।
गुठी संस्थान प्रधान कार्यालय र महासंघबीच लिज सम्झौतामार्फत जग्गा उपलब्ध गराइएको हो । यस सम्झौतामा गुठी संस्थानका प्रशासक तथा कार्यकारी प्रमुख शैलेस राज कुवर र नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जराले हस्ताक्षर गरेका हुन् ।
३० वर्षे लिज अवधिको सम्झौता अन्तर्गत पत्रकार महासंघले सो जग्गामा आफ्नै स्थायी भवन निर्माण गर्न पाउने भएको छ । यो उपलब्धिमा महासंघ मधेस प्रदेशका अध्यक्ष बन्जराको नेतृत्वमा भएको सक्रिय पहल र महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको समन्वय र लगनशीलता विशेषरूपमा उल्लेखनीय रहेको महासंघले जनाएको छ ।
साथै यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति महासंघले आभार व्यक्त गरेको छ । अध्यक्ष बन्जराले यो उपलब्धिलाई “ऐतिहासिक उपलब्धि“ भन्दै मधेसमा पत्रकारिता विकास र संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरे ।
“भवन निर्माणपछि मधेस प्रदेशमा क्रियाशील पत्रकारहरूलाई संस्थागत रूपमा अझ व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्न सकिनेछ,” उनले भने । उनले थपे, “मधेस प्रदेश सरकारले पनि यस परियोजनाका लागि स्रोत सुनिश्चित गरिसकेको छ, र केही महिनाभित्रै भवन निर्माणको ठोस कार्य सुरु हुनेछ ।
भवन निर्माण सम्पन्न भएपछि पत्रकार महासंघको प्रदेशस्तरीय गतिविधिलाई थप प्रभावकारी बनाउने, पत्रकारहरूका लागि तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रम सञ्चालन गर्न अनुकूल हुने अपेक्षा गरिएको छ ।
यसअघि मधेस प्रदेशमा पत्रकार महासंघको कुनै स्थायी भौतिक संरचना नहुनु संस्थागत कार्यमा बाधक बनिरहेको थियो । अब भने यो भवन पत्रकारहरूको साझा घर बन्ने विश्वास गरिएको छ ।














