काठमाडौँ, १८ साउन । भुम्लु गाउँपालिकाका उपाध्यक्षले लागु औषध मुद्दामा उच्च अदालत पाटनबाट सजाय पाएका छन् ।
लागु औषध मुद्दामा उच्च अदालतबाट ५ वर्ष कैद र ५ हजार र जरिवाना पाएका दावा लामा भन्ने जितेन्द्रमान तामाङविरुद्धको लागुऔषध मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएसँगै सो तथ्य खुलेको छ ।
लामा काग्रेसको तर्फबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्षमा विजयी भएका थियो । लामाविरुद्धको लागुऔषध मुद्दा न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरलेको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।
२०७१ भदौ २ गते प्रहरीले बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट दावालाई पक्राउ गर्दा उनीबाट एप्पल कम्पनीको मोबाइल थान–१, सामसुङ कम्पनीको मोबाइल थान १ सहित १४८० ग्राम खैरो हेरोइन बरामद भएको थियो । जुन मुद्दामा लामालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासबाट दावी नपुग्ने भन्दै सफाइ दिएको थियो ।
उनीसँगै कञ्चनपुर जिल्ला, महेन्द्रनगर नगरपालिका वडा नं ४ का प्रवीण खड्का र दार्चुला साबिक धारी गाविस ७ का वीरेन्द्रबहादुर कुँवर पनि पक्राउ परेका थिए । जिल्लाको फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय उच्च पुगेको थियो । सो मुद्दामा उच्च अदालतले उनलाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको खुलेको छ । अदालतले दोषी ठहर गरेकै अवस्थामा उनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थियो ।
उच्चको फैसलामा भनिएको छ, ‘प्रतिवादीमध्येका दावा लामा भन्ने जितेन्द्र तामाङका साथबाट लागुऔषध १४।८० ग्राम बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र सो कुरालाई प्रतिवेदकले बकपत्रसमेत गरेको देखिएको अवस्थामा निज प्रतिवादीलाई आरोपित गरिएको लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ खण्ड घ र च को कसुरमा ऐनको दफा १४ (१) बमोजिम सजाय गर्नुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी काठमाडौँ जिल्ला अदालतबाट भएको ०७२–०८–२७ मा भएको फैसला सो हदसम्म मिलेको देखिन नआउँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी दावा लामा भन्ने जितेन्द्र तामाङलाई अभियोग दाबीको कसुरमा लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४(१) र ६(१)बमोजिम पाँच वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर्छ ।’ उनीसँगै पक्राउ परेका प्रवीण खड्का र वीरेन्द्रबहादुर कुँवरसँग भने लागुऔषध बरामद नभएका आधारमा सफाइको फैसला भएको थियो ।
लामाले दिएको निवेदनमा पहिलो पेशी २०७८ कात्तिक ८ गतेका लागि तोकिएको थियो । लामाको यो मुद्दामा सर्वोच्चमा १५ पटक पेशी तोकिसकेको छ ।














