काठमान्डौँ, १७ साउन । वैदेशिक रोजगारीको बहानामा भारत पु–याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ ।
ती किशोरीहरुलाई भारत पु–याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताएका छन । उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको हो ।
उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ । अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पु–याएका थिए ।
किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए ।














