जनकपुर, १६ साउन । तराईमा सुख्खाग्रस्त मधेशका किसानलाई राहत प्रदान गर्न रकारले ढिलासुस्ती गरेको भन्दै विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र लिएका छन् ।
विपक्षी दलहरूको संयुक्त प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रको तत्कालीन समस्यालाई सम्बोधन गर्न सरकार असंवेदनशील बनेको आरोप समेत लगाएको छ ।
सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिँचाइको व्यवस्था गर्न, किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई सिफारिस गर्न, मल र खाद्यको न्यायोचित वितरण सुनिश्चित गर्न, वीरगन्जलगायत मधेशका शहरी तथा ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको चरम अभाव समाधान गर्न आवश्यक व्यवस्था मिलाउन माग गरेको हो ।
यस्तै जल संकट समाधानका लागि चुरे क्षेत्रको संरक्षण र जलाशय निर्माणमा दीर्घकालीन योजना अघि बढाउन, कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानको सूचना झन्झटिलो र विभेदपूर्ण भएको भन्दै सबै पालिकालाई समेट्न र २ बिघाको लालपुर्जाको बाध्यता हटाउन, नदी, नाला, कुलो, पैनी, पोखरीको जिर्णोद्धार गरी सतह सिँचाइ सुविधा विहीन क्षेत्रलाई प्राथमिकतामा राख्न समेत उल्लेख राखेको छ ।














