एजेन्शी, । युक्रेनका विभिन्न क्षेत्रहरूमा रुसले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ ।
जसमा २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन्। यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए ।
जसमा तोकिएको समयभित्र आक्रमण नरोकिए कडा आर्थिक प्रतिबन्ध लगाइने चेतावनी दिइएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाएका छन् ।
सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ । यसैगरी, खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ । युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ’युद्ध अपराध’ को संज्ञा दिएका छन् ।














