जनकपुर, १३ साउन । धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित कटैयाचौरी क्षेत्रमा सोमबार राति एक भयानक हत्याकाण्ड भएको छ।
धारिलो हतियार (खुकुरी) प्रहारबाट १४ वर्षीया अञ्जलीकुमारी यादवको ज्यान लिइएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार, क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साहले सोमबार राति करिब साढे ११ बजे डेरामा बसेका परिवारमाथि आक्रमण गरेका हुन्।
उनले पहिलो प्रहार अञ्जलीकुमारी यादवको घाँटीमा गर्दै घटनास्थलमै उनको हत्या गरेका थिए। मृतक अञ्जली ३५ वर्षीया आशा यादवकी छोरी हुन् ।
रामबाबु साहले अञ्जलीकी आमा आशा यादवमाथि पनि आक्रमण गरेका थिए।
उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। यस्तै, सोही कोठामा बस्ने धनुषा, मिथिला नगरपालिका–१ ढल्केवरकी १४ वर्षीया राधा यादवमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए।
दुवै घाइतेलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार, घटना राति साढे ११ बजे भएको हो।
हाल घटनाको गम्भीर अनुसन्धान भइरहेको र फरार रहेका अभियुक्त रामबाबु साहको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।
हत्या किन गरिएको हो भन्ने विषयमा यथार्थ खुलेको छैन। यद्यपि, प्रारम्भिक अनुमानमा व्यक्तिगत रिसिइबी वा पारिवारिक द्वन्द्वको आशंका गरिएको छ।
रामबाबु साह सोही घरमा डेरा गरी बस्दै आएका थिए।














