जनकपुर, २० असार । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा विद्यालय सम्वद्ध सूचना व्यवस्थापन प्रणाली EIMIS र अपांगता पहिचान सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ ।
शुक्रबारबाट सुरु भएको सो कार्यशालामा गाउँपालिकाका १७ वटा विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष राजकुमार साहले गर्नुभएको थियो ।
अध्यक्ष साहले शिक्षकहरूको भूमिका प्रति विशेष जोड दिँदै भन्नुभयो, “अभिभावकहरूले आफ्ना बालबालिकालाई शिक्षकहरूमा विश्वास गरेर विद्यालय पठाउँछन्, त्यसैले शिक्षकहरूले पनि सो विश्वासको कदर गर्दै बालबालिकालाई राम्रो शिक्षा दिएर भविष्यमा डाक्टर, पाइलट, इन्जिनियरजस्ता जिम्मेवार नागरिक बनाउनुपर्छ ।
” उहाँले शिक्षकहरू राष्ट्र निर्माणका आधारभूत खम्बा भएको उल्लेख गर्दै, विद्यार्थीको समुचित विकासका लागि शिक्षकहरूले नैतिकता र समर्पणका साथ कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका प्रशिक्षक भक्तराम सिजालीले तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्देश्य र कार्ययोजना प्रस्तुत गर्नुभयो । उहाँले विशेषगरी EIMIS प्रणालीको प्रयोग, विद्यालय डाटा व्यवस्थापन र अपांगता पहिचान सम्बन्धी प्राविधिक पक्षमा सहभागीहरूलाई प्रशिक्षित गरिने जानकारी दिनुभयो ।
शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार मण्डलले तालिमको उद्देश्यबारे जानकारी दिँदै भने, “विद्यालयको सम्पूर्ण शैक्षिक तथा विद्यार्थीसम्बन्धी विवरण EIMIS ईमीस प्रणालीमा अद्यावधिक राख्नुपर्ने भएकाले शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा पालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, सदस्यहरू तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । प्रशिक्षण सत्र तीन दिनसम्म चल्नेछ र सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ ।














