काठमाडौं, १५ असार । भारतको राजधानी नयाँ दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भएको छ ।
दिल्लीमा प्रदूषित हावालाई सफा गर्न कृत्रिम वर्षा गराउनेबारे लामो समयदेखि कुरा उठ्दै आएको थियो । दिल्ली सरकारले शहरको अस्वस्थकर प्रदूषित हावालाई सफा गर्न ‘क्लाउड सीडिङ’ प्रविधिमार्फत वर्षा गराउने प्रयास थालेको पर्यावरण मन्त्री मंजीन्दर सिंह सिरसाले घोषणा गरे ।
उनका अनुसार आगामी ४ जुलाईदेखि ११ जुलाईसम्म वर्षा गराउने कृत्रिम बादल बनाएर पानी पार्ने तयारी भइरहेको छ । प्रदूषणका कारण दिल्लीमा गर्मी र हिउँद दुवै याममा वायुको गुणस्तर एकदमै खराब रहने गरेको छ ।
विशेषगरी अक्टोबर–नोभेम्बरका बीच धान–गहुँका पराल, छ्वाली जलाउँदा, गाडी र उद्योगबाट निस्कने धुँवाका कारण हावा अत्यधिक प्रदूषित हुने गर्दछ ।
प्रदूषित वायुमण्डललाई सफा पार्न र धुलोका कणहरुलाई तल झार्न प्राकृतिक वा कृत्रिम वर्षा दुवै लाभदायक हुने सरकारको अपेक्षा छ ।
कृत्रिम वर्षाले थोरै भएपनि हावा सफा हुने ठानिएको छ । कृत्रिम वर्षालाई मुर्तता दिन क्लाउड सीडिङ (पानी पार्ने कृत्रिम बादल बनाउने प्रक्रिया) प्रविधिको प्रयोग गरिन्छ ।
क्लाउड सीडिङअघि आकाशमा भएका बादलमा चिसोपना (आद्र्रता) भए नभएको पत्ता लगाइन्छ । यदि नभएको पाइए सिल्भर आयोडाइज्ड, आयोडाइज्ड नुन र रक साल्ट (सिधे नुन) का कणहरुलाई विमानमार्फत ती बादलहरुमा छाडिन्छ ।
आइआइटी कानपुरका टिमले दिल्लीको प्रदूषणलाई मध्यनजर गर्दै यो प्रविधिको विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।














